रचना – हेम बहादुर गन्धर्व
ईतिहासका धेरै पानाहरुमा
र,यात्राका धेरै मोडहरूमा
अनगिन्ती पढियो अतितका आतुरीहरुको कथा
खोई कस्तो
सपना देख्दा रहेछन् राती आतुरीहरु
र,बिहान ब्यूँझदा साथ
ओछ्यानबाटै झुटो झङ्कार उराल्दै
भन्ने गर्थ्ये-
बाटो गलत भयो
यात्रा ढिलो भयो
जब मध्यान्ह तिर घाम चर्किदै जान्थ्यो
घाम संगै चर्किदै जान्थ्यो
आतुरीहरुको उस्तै स्वर
र,फेरि भन्ने गर्थे-
बाटो बदल्छौ अनि छिटो दौडिन्छौ
एक दिन
आतुरीहरु आत्तिदै
अलग बाटो दौडिए
तब
समयलाई गति संग हिडाउन नजान्दा
गतिलाई समय संग मिलाउन नजान्दा
बिच बाटोमै
अलपत्र परे आतुरीहरु
न छिटो गन्तव्यमा पुगे
न मूल बाटोमा रहे
आतुरीहरुको कथा अन्त्य भयो
तर
ईतिहासका धेरै पानाहरुमा
र,यात्राका धेरै मोडहरूमा
अनगन्ति पढियो अतितका आतुरीहरुको
दुखत कथा
र,आज फेरि एक पटक
पढ्न मन लाग्यो
तिनै अतितका आतुरीहरुको कथा ।।