अघि बढे वैज्ञानिक पुन:आविष्कार केन्द्रका लागि रु ६ करोड जुट्यो,

0
386

आविष्कार केन्द्रका लागि करिब ६ करोड रुपैयाँ जुटेको छ । त्यसका लागि पुनले पोखरास्थित आफ्नो जग्गा बिक्री गरेर करिब तीन करोड थप्ने आशा गरेका छन् ।

केही वर्षयता महावीर पुन आफ्नो फेसबुक पेजमा कहिले आक्रोशित पोस्ट गर्छन् भने कहिले आशातीत शब्दहरू लेख्छन् । त्यसभन्दा बढी राष्ट्रिय आविष्कार केन्द्रका लागि देश–विदेशमा बस्ने नेपालीले गरेको आर्थिक सहयोगको विवरणको फेहरिस्त दिने गर्छन् । नेपालका दुर्गम गाउँमा ताररहित इन्टरनेट पुर्‍याउँदा म्यागेसेसे पुरस्कार पाएका पुन अहिले आफ्नो नयाँ सपनालाई मूर्तरूप दिन दौडधुप गरिरहेका छन् । सरकारबाट भनेजस्तो सहयोग नपाएको भन्दै उनले शुभचिन्तकबाट आर्थिक जोहो गरेरै पनि आविष्कार केन्द्र सञ्चालन गर्ने अठोट लिएका छन् ।

पुन बारम्बार भन्ने गर्छन्– चीन, जापान, कोरियाजस्ता विकासको तीव्र गति हुइँक्याइरहेका देशहरू यस्तै आविष्कार केन्द्रका कारण सफल भएका हुन् । उनलाई विश्वास गरेर नै आविष्कार केन्द्रका लागि देश–विदेशमा रहेका नेपालीले ल्याकतले भ्याएजति सहयोग गरिरहेका छन् । पुनले भनेको आविष्कार केन्द्रले काम सुरु गर्‍यो ? यसले कसरी काम गरिरहेको छ ? के काम गरिरहेको छ ? अथवा, यसले के काम गर्छ त ? यी प्रश्नका जवाफ धेरैले जान्न चाहेका छन् ।

‘काम सुरु भइसक्यो,’ पुन भन्छन्, ‘केही काम सुरु भइसक्यो, केही काम योजनाकै चरणमा छन् ।’ आविष्कार केन्द्रको काम सञ्चालनकै लागि उनले कुपन्डोलमा एउटा चार कोठे घर भाडामा लिएका छन्, जहाँ नयाँ उत्पादनको अनुसन्धान र विकासमा केही इन्जिनियरहरू हरपल जुटिरहेका हुन्छन् ।

नयाँ ‘आइडिया’ लाई मूर्तरूप दिन चाहनेलाई सामान, सुविधा र आर्थिक सहायता प्रदान गरी काम सुरु गरिएको पुनले सुनाए । उनका अनुसार आविष्कार केन्द्रअन्तर्गत अहिले ‘ड्रोन’ को अनुसन्धान भइरहेको छ, जसमार्फत औषधि, रगतजस्ता अत्यावश्यक वस्तु बोकेर निश्चित गन्तव्यसम्म पुर्‍याउन सकियोस् ।

आगामी वैशाखसम्म ड्रोनको ‘प्रोटोटाइप’ बनाएर सामान्य परीक्षण गर्ने योजना रहेको उनले बताए । यो स्वचालित हुनेछ । चार वर्षअघि ड्रोनको प्रोजेक्ट सुरु गरिएको थियो । यसका लागि इन्जिनियरिङका केही विद्यार्थी समूह सक्रिय छन् र उनीहरूलाई केही अनुभवीले सघाइरहेका छन् । ड्रोनको हार्डवेयर र सफ्टवेयर दुवैतर्फका काम भइरहेको र विभिन्न देशमा यसै क्षेत्रमा काम गरिरहेका अनुभवी इन्जिनियरहरूले नेपालमा रहेको टिमलाई सहयोग गरिरहेको उनले बताए ।

‘अस्ट्रेलिया, जर्मनी, चीन, स्वीडेनजस्ता देशमा यही विषयमा काम गरिरहेका नेपालीले यहाँको टोलीलाई सघाइरहेका छन्,’ पुन भन्छन्, ‘ड्रोन बनाउने टोलीलाई आवश्यक सामान र केही आर्थिक सहायता केन्द्रले उपलब्ध गराइरहेको छ ।’ उनका अनुसार आविष्कार केन्द्रकै पहलमा केही इन्जिनियरको समूहले फरक खालको फिल्टरसमेत बनाएका छन्, जुन अहिले परीक्षणकै क्रममा छ । यो फिल्टरलाई दूषित पानीका कारण महामारी फैलिइरहने जाजरकोटजस्ता स्थानका लागि उपयोगी हुने उनकोबुझाइ छ ।

‘अहिले विभिन्न जिल्लाका पानीको नमुना मगाएर परीक्षण गरिरहेका छौं,’ पुन भन्छन्, ‘परीक्षणले पूर्णता पाएपछि सस्तो मूल्यमा बजारमा पठाउनेछौं ।’ अनुसन्धान गर्ने समूहलाई नै बजारमा बिक्रीको जिम्मा दिने उनले बताए । फिल्टरहरू दूषित पानीका कारण महामारी फैलिने स्थानका धारामा जडान गर्न उपयोगी हुने उनको विश्वास छ ।

आविष्कार केन्द्रले नयाँ आइडियालाई कार्यान्वयन गर्न चाहनेका लागि सहयोग गरिरहेको छ । यसैमध्येको एक हो, पोते बनाउने मेसिन । महिलाले लगाउने पोते बुन्नका लागि मेसिनको ‘प्रोटोटाइप’ अन्तिम चरणमा पुगेको छ ।

अचेल विभिन्न सहरमा परम्परागत रिक्साको सट्टामा विद्युतीय रिक्सा प्रयोगको चलन बढ्दो छ । ब्याट्रीबाट चल्ने यस्ता रिक्सा विशेषत: तराईका सहरमा बढी प्रचलित छ । काठमाडौंमा पनि ‘सफा टेम्पो’ चल्न थालेको धेरै भइसक्यो । सवारीको बढ्दो चाप र यसले गर्ने प्रदूषणका कारण विद्युतीय सवारीको माग र चाहना बढ्दो छ । यस्ता सवारीमा इन्जिनजत्तिकै महत्त्व छ, ब्याट्रीको । यस्ता रिक्सा र टेम्पोको ब्याट्रीलाई किफायती बनाउन पनि प्रयास भइरहेको पुनले बताए । यसका लागि चार्जिङ प्रणाली राम्रो बनाउनु अत्यावश्यक छ । आविष्कार केन्द्रअन्तर्गत नै एक टोली यसमा जुटेको छ । ब्याट्रीमा एक रसायन राखेर त्यसलाई ४८ घण्टा लगातार चार्ज गरेपछि यस्ता ब्याट्रीका आयु एक वर्ष बढ्ने दाबीसहित उनीहरू परीक्षणमा जुटेका छन् । यसलाई सम्भवत: विराटनगरमा परीक्षण गरी अन्य ठाउँमा विस्तार गर्ने योजना रहेको पुनले बताए ।

आविष्कार केन्द्रको अभियान थालेपछि उनलाई दर्जनौं प्रस्ताव आएका छन् । तीमध्ये केही दैनिक जीवनलाई सघाउने सामान्य छन् भने केही महत्त्वाकांक्षी । शुभचिन्तकबाट आर्थिक जोहो गरेर सुरु भएको आविष्कार केन्द्रले ती महत्त्वाकांक्षी योजना साकार पार्न सहयोग गर्न सक्ला त ?

‘हरेक योजना सुरुमा महत्त्वाकांक्षी लाग्छन्,’ पुन भन्छन्, ‘त्यसलाई बेवास्ता गर्नु हुन्न ।’ उनी अहिले पनि भेटे जतिलाई नयाँ योजनामा काम गर्न प्रोत्साहित गरिरहन्छन् । भन्छन्, ‘बेलुनसमेत अर्को देशबाट आयात हुन्छ । अब हामीलाई चाहिने सामान आफैं
अनुसन्धान गरी उत्पादन गर्नुपर्छ ।’

अनुसन्धानकै कामलाई सघाउन एउटा बृहत् ल्याब खोल्ने आविष्कार केन्द्रको उद्देश्य हो । यसैका लागि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा स्थान जुटिसकेको पुनले बताए । उनले त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउन केही समयमै टेन्डर आह्वान गरिँदै छ । करिब एक करोडको लागतमा बन्ने ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने उनको बुझाइ छ ।

आविष्कार केन्द्रका लागि करिब ६ करोड रुपैयाँ जुटेको उनले बताए । त्यसका लागि उनले पोखरास्थित आफ्नो जग्गा बिक्री गरेर करिब तीन करोड रुपैयाँ थप्ने आशा गरेका छन् । ‘अक्सनमा राखिएका मेरा मेडलहरू पनि सायद यसै महिना बिक्री हुन्छन्,’ पुनले भने, ‘त्यसबाट एक करोडजति आउने अनुमान छ ।’ यिनै पुँजीले अहिले अनुसन्धान र विकासको कामलाई निरन्तरता दिने सुरसारमा छन्, उनी ।

विजय तिमल्सिना/कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here