मिचिएको भूमि फिर्ता गर्न आन्दोलनको विकल्प छैन : अखिल (छैठौं)

0
448

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले भारतद्वारा मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न आन्दोलन गर्नुको अर्को विकल्प नरहेको बताएको छ । अखिल (छैठौं) ले वीरगञ्जको छपकैयामा नेपाली भूमि भारततिर पर्ने गरी निर्माण गरिएका सीमा पिलरहरु भत्काएर मिचिएको नेपाली भूमि फिर्ता गरिनु पर्ने समेत बताएको छ ।

केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक पश्चात् अध्यक्ष विमल पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा सो कुरा बताइएको छ । बैठकले अखिल (छैठौं) को राष्ट्रिय परिषद बैठक २०७४ फागुन २५ र २५ गते लमजुङको घलेगाउँमा बस्ने निर्णय गरेको समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष पोख्रेलद्वारा २०७४ माघ ८ गते जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ– “अखिल (छैठौँ) केन्द्रीय समितिको पाँचौँ बैठक २०७४ माघ ७ गते काठमाडौँमा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

१. प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि लामो समयदेखिको सङ्क्रमण काल अन्त्य भएको छ । देशको सार्भभौम सत्ता, विकास र जनताका आधारभूत आवश्यकता पुरा गर्ने काममा जिम्मेवार हुन देशका सबै राजनीतिक दल र निर्वाचित जन प्रतिनिधिहरुलाई अपिल गर्दछौँ ।

२. वीरगञ्ज महानगरपालिका–१, छपकैयामा जङ्गे पिलर नम्बर ३९१ र ३९२ तथा त्यसका सहायक पिलरहरु मर्मत गर्ने नाममा नेपाली जनताको आफ्नो नाममा लालपुर्जा भएको र भोगचलन गर्दै आएको करिब ५० बिगाह जमिन भारततिर गाभिने गरी पिलरहरु निर्माण गर्न लागिएको छ । नेपाली भूमि भारततिर पर्ने गरी निर्माण गर्न लागिएको पिलर निर्माण कार्य रोकी नेपालको तर्फबाट पठाइएको सर्वेक्षण टोलीलाई तत्काल फिर्ता गर्न माग गर्दछौँ । निर्माण गरिएका पिलरहरु भत्काएर नेपाली जमिन फिर्ता हुनु पर्दछ । मिचिएको सबै भूमि फिर्ता गर्नका लागि आन्दोलन बाहेक अर्को विकल्प देखिएको छैन । सीमा सुरक्षा र मिचिएको जमिन फिर्ता गर्न अखिल (छैठौँ) ले गत वर्ष सीमा बचाऔँ अभियान सञ्चालन गरिएको स्मरण गराउँदै आन्दोलन निरन्तर जारी रहनेछन् ।

३. त्रिभुवन विश्व विद्यालयले बिना तयारी देशका धेरै क्याम्पसहरुमा जबर्जस्त सेमेस्टर प्रणाली लागु गर्ने प्रयत्न गरेको छ । त्यसले सेमेस्टर प्रणालीको धज्जी उडाउने काम गरेको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत सेमेस्टर प्रणाली अनुसार शिक्षण कार्य हुन सकेको छैन । जनशक्ति र भौतिक पूर्वाधार पुरा नगरी लागु गरिनु हुँदैन भन्ने कुरामा सबै एकमत हुँदा हुँदै पनि जबर्जस्त लागु गरिएको सेमेस्टर प्रणाली गुण स्तरीय नहुने प्रष्ट छ । हामी सेमेस्टरको नाममा उच्च शिक्षामा गरिएको खेलवाडको विरोध गर्दछौँ ।

४. अखिल (छैठौँ) को राष्ट्रिय परिषदको बैठक २०७४ फागुन २४ र २५ गते लमजुङको घलेगाउँमा गर्ने निर्णय भएको छ । राष्ट्रिय परिषदको भेलाभन्दा पहिले प्रदेश तथा जिल्लाका भेला र बैठकहरु सम्पन्न गरिने छ ।

५. फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा सङ्गठनका नीति, सिद्धान्त र गतिविधिहरुको व्यापक प्रचार गर्ने तर विधान विपरीत हुने गरी कुनै कुरा नलेख्ने र लेखिएका भए त्यस्ता गलत प्रचारहरुलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ ।
६. बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले समसामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here