क्रान्ति गर्नको लागि क्रान्तिकारी बिचारको आवस्यकता पर्छ ।क्रान्तिकारी विचार आकासबाट झर्दैन ।धर्तीबाट पनि उम्रदैन ।इतिहासको उत्खननबाट मात्रै पनि पुग्दैन। त्यसको लागि जरुरी हुन्छ- आफू वाँचेको समयको सही समझदारी ।आफू वाँचेको समयको सही समझदारीबाट निकालिएको तात्तातो निस्कर्ष र त्यसलाई प्रयोग गर्दै परिस्कार गर्दै लैजाने इमान्दारिता र मृत्यसँग पलपल जुध्ने अकण्टक साहस । क्रान्तिकारी विचार वर्ग संगर्षबाट भागेर र राजनीतिसँग नाकनिक गरेर ढोका थुनेर कोठाभित्र किताव पढेर मात्रै पनि आउँदैन । ससानो गुट बनाएर त्यसैभित्र भेडिया धसान छलफल गरेर मात्रै पनि हुदैन।
कति साथीहरू वाल सुलभ लवजमा भन्ने गर्छन- ‘क्रान्तिकारी कुरा त जसले पनि गर्न सक्छ , क्रान्तिकारी विचार त जसले पनि ल्याउँन सक्छ ।ती साथीहरू क्रुध्द हुदै भन्छन्- सवैले क्रान्तिकारी कुरा गर्छन, काम चै कोही गर्दैनन् , सव फटाहा छन् ।’ म ती साथीहरूको कुरा सुनेर चुनावअघि गाउँमा भेटेको एक जना किसान सम्झन्छु ।उनी भन्थे -‘ भोट माग्न आउने सवैले राम्रा कुरा गर्छन् , तपाई पनि राम्रा कुरा गर्न आउँनु भएको होला ? हामीलाई राम्रा कुरा होइन , काम चाहियो ।’ हाम्रा साथीहरूले ‘ कुरा त सवैले क्रान्तिकारी गर्छन् तर व्यवहारमा कोही देखाउँदैन’ भन्ने भनाई पनि तिनै किसानको कथन जस्तै हो। जसले राम्रो कुरा के हो र नराम्रो कुरा के हो भनेर भेउ पाएको छैन।
सवै कुराहरू क्रान्तिकारी हुँदैनन्। क्रान्तिकारी हुदैनन् भनेको सवै विचारहरू वैज्ञानिक हुदिनन् ।कति कुराहरू इमान्दार तरिकाले भनिए पनि वैज्ञानिक नभएका कारणले क्रान्तिकारी नभएर दक्षिणपन्थी , मध्यपन्थी या जडशूत्रीय हुन्छन् ।
दोश्रो कुरा – क्रान्तिकारी विचारलाई कार्यन्वयन गर्ने मानिसले हो ।मानिसहरूको पहलकदमी भएन भने विचारहरू दस्तावेजबाट जुरुक जुरुक उठेर क्रान्ति गर्न भनेर जाँदैनन् ।अक्षरहरूले जुलुस निकाल्दैनन् । आन्दोलन गर्दैनन् र सत्ता ढाल्दैनन्। जसरी मान्छेले पहल नगरी जति सुकै शक्तिसाली हतियारले पनि आफैले युध्द गर्दैन। क्रान्तिकारी विचार पनि हतियार जस्तै हो। पहिलो कुरा युध्दको लागि शक्तिसाली हतियार चाहियो ।त्यसपछि त्यो हतियार चलाउने मानिस चाहियो।त्यसपछि त्यो हतियार कति वेला चलाउँने कता चलाउँने कसका विरुध्द चलाउँने भन्ने सही समझदारी चाहियो ।
हामीसँग केही गरी क्रान्तिकारी विचार तयार छ भने हामीलाई तुरुन्तै जरुरी हुन्छ- त्यसलाई कार्यन्वयन गर्न तत्पर संगठनको।संगठन व्यक्ति व्यक्तिको कूल योग हो।त्यो संगठन क्रान्तिकारी विचार लागू गर्न योग्य हुनको लागि व्यक्तिहरू पनि इमान्दार र क्रान्तिकारी चाहिन्छ। अवसरवादीहरू या पूँजीवादी बाटोमा हिड्न सुरु गरेकाहरू या भित्र भित्र पूँजीवादलाई आदर्श मानिसकेकाहरूबाट क्रान्तिकारी विचार लागू हुदैन , वरु भ्रष्टीकरण हुन्छ।
आदर्शहरू आफै दस्तावेजबाट उठेर समाजमा स्थापित हुदैनन्।क्रान्तिकारी अनुशासन वाला अक्षरहरू घर घर उर्दी लगाउँन जाँदैनन् र क्रान्तिकारी नैतिकता आफै कृयाशील बनेर हामीलाई मार्गदर्शन गर्दैन।ती सवै कुरालाई क्रान्तिकारीहरूले कठोर तपस्या मार्फत लागू गर्ने हो। यदि हामीसँग मोटामोटी विचार चै क्रान्तिकारी छ तर हामी अवसरवादी छौं भने क्रान्ति गर्ने हाम्रो कुरा यौटा डर लाग्दो ठगी मात्र बन्न पुग्छ । के हामीले यसरी कैले सोचेका छौं ?